Tuesday, October 18, 2016

स्याङ्जा जिल्लाकै प्रसिद्ध सतौँ चण्डी कालिका मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै .....

Donot miss it to watch( Description of sataun kot) 

 स्याङ्जा जिल्लाकै प्रसिद्ध सतौँ चण्डी कालिका मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।
स्याङजा बजारबाट करिब ११ किमी टाढा रहेको यो मन्दिर हालको पुतलीबजार नगरपालिका वडा नं ८ मा पर्दछ । मन्दिरको केहीमाथि सतौँकोटे राजाले बनाएको दरबार छ जसलाई ‘कोट’ भनिन्छ ।
पहिलेका बाइसेचौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलनअनुरुप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामाकरण गरेको हुन सक्ने स्थानीय समाजसेवी गुरुप्रसाद ढकालले जानकारी दिनुभयो ।
यो मन्दिर सतौँका तेस्रो राजा शिरबम शाहीले निर्माण गरेको विश्वास गरिने जानकारी दिँदै उहाँले मन्दिरमा मगर जातिका पूजारीले पूजा गर्ने प्रचलन रहेको र हाल इन्द्रबहादुर रानाले पूजा गर्दै आएको बताउनुभयो ।
मन्दिर दर्शनका लागि दैनिक २÷३ सय मानिस सताँै चण्डी आउने गरेको र दसैँ जस्ता विशेष चाडपर्वमा भने ५÷६ हजारकै सङ्ख्यामा मानिसहरू पुग्ने गरेको ढकालले बताउनुभयो ।
सतौँका पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान थिए । पाल्पा भगवती, बाग्लुङ कालिका, गोरखा मनकामना र चण्डीस्थानको मन्दिरमा पूजा गर्ने विधि र पूजारी पनि एउटै जातको भएकाले यी मन्दिरहरू समान शक्तिपीठ हुन् कि भन्ने अनुमान गर्न सकिन्छ ।
चण्डीस्थानको अहिले देखिने मन्दिर विसं २०४५ मा पुनःर्निर्माण गरिएको हो । सतौँ चण्डी मन्दिरको आसपासमा सतौँ चण्डीस्थान, सतौँकोट, पशुपतिनाथ मन्दिर रहेका छन् ।
प्राचीन सतौँ राज्यभित्र दरौँ, पञ्चमूल, अर्जुन चौपारी, सातु पसल, लामागे, सतौँगाउँ फापरथुम पर्दछन् । सतौँ चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वास रहीआएको गुरुप्रसाद ढकालको भनाइ छ ।
यस मन्दिरमा पूजा वा दर्शनका लागि कास्की, पाल्पा, तनहुँ, पर्वत, बागलुङ, रुपन्देही, काठमाडौँलगायत टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् ।
महाशिवरात्रि, बालाचतुर्दशी, दसैँं, चैतेदसँै आदिमा मन्दिरमा मेला लाग्छ । बाजागाजासहित सङ्घसंस्था वा व्यक्तिले पनि पञ्चबली (राँगा, हाँस, पाठा, भाले, परेबा, सुगुर) दिने चलन छ ।
रजस्थल र सतौँ राज्यको राजधानी रहेको यो ऐतिहासिक स्थान प्राकृतिक सौन्दर्र्यले भरिपूर्ण रहेका कारण पर्याप्त पर्यटकीय सम्भावना बोकेको स्थल भएको अर्का युवा हेमचन्द्र ढकाल बताउनुहुन्छ ।
यस ठाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनास्लु हिमालको मनोरम शृङ्खला देख्न सकिने बताउँदै उहाँले यहाँबाट देखिने आँधीखोला, दरौँखोला, राङ्खोेलालगायत खोलाको मनोरम दृश्यले पनि पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो ।
कास्की, तनहुँ, पर्वत, गुल्मी र पाल्पाका अधिकांश स्थान यहाँबाट अवलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकामलगायत पुतलीबजार नगरपालिकाका साथै जिल्लाको अधिकांश भाग यहाँबाट देखिन्छ ।
यसका नजिकका अन्य आकर्षणमा पारिकोट डाँडा, महाछाङ, बैदीखोला, राहुलडाँडा, तामाखानी, मैदान, महाभिर, सल्यान, बाघखेल्ने ढुङ्गा, ठूलोपँधेरा, खर्सेक, रातमाटा र सिद्धबाबा हुन् ।
यसका साथै पछिल्लो समय विकासका गतिसँगै निर्माण हुँदै गएका यातायातका नागबेलीयुक्त सडक पनि पर्यटकको आकर्षण बनेका छन् । २०४२ सालमा योगी नरहरिनाथले भ्रमण गरेपछि यस क्षेत्रका स्थानीय बुद्धिजीवीको सक्रियता बढेको पाइन्छ ।
स्थानीयस्तरको एउटा भजन कीर्तन समूहले वैदिक सनातन धर्मको संरक्षण, सतौँ चण्डी देवनगरीधामको विकास र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०५३ मा संस्था दर्ता गरिएको थियो ।
साथै त्यही सालमा यस क्षेत्रमा पशुपतिनाथको मन्दिर स्थापना गरियो । यस क्षेत्रको विकासका निम्ति २०५५ साल र २०७० साल गरी दुई पटक शिवपुराण महायज्ञ गरियो । २०५५ माघ २२ गते महाशिवरात्रिका दिन पशुपतिनाथमा शिवमूर्ति तथा शिवलिङ्गको प्राणप्रतिष्ठा योगी नरहरिनाथबाट भएको थियो । २०७० फागुन ८ गतेबाट १६ गतेसम्म भागवत भाष्कर कमल नयन गौतमबाट कथा वाचन तथा महायज्ञ सम्पन्न गरिएको थियो ।
सतौँ चण्डीको पूजा तथा दर्शनका लागि स्याङ्जा बजारबाट बाडखोला, पुतलीखेत, लामागे, आमडाँडा रजस्थल मैदानसम्म दश किमी पक्की सडकबाट सवारी साधनमा नै आवतजावत गर्न सकिने अर्का युवा प्रकाश पुरीले बताउनुभयो ।
पुरीका अनुसार स्याङ्जा बजार लामागेको बाँसकोट, भण्डारी गाउँ तथा खोरबार, गहते हुँदै बजारबाट दुई घण्टामा पैदल यात्रामा चण्डीस्थान पुग्न सकिन्छ । रासस